• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    केपीले एमालेलाई एकजुट गर्न चाहँदैनन्, त्यसकारण संसद, संविधान भताभुंग बनाएः मुकुन्द न्यौपाने (अन्तर्वार्ता)


    २०७८ असार १९, शनिबार

    २०७८ असार १९, शनिबार

    प्रतिनिसिभा पुनर्स्थापना हुनुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश आउनुपर्ने माग दावी गर्दै सर्वोच्चमा परेको रिटमाथि प्रयोग भएका तपाईंहरूका हस्ताक्षर फिर्ता लिन भनेर संस्थापन पक्षले निर्देशन दिएको छ । सोमबारसम्म हस्ताक्षर फिर्ता लिनुहुन्छ ?

    आजको निर्णयले स्पष्ट भयो कि केपी ओली एमाले एकता चाहँदैनन् । यता सहमतिका लागि बसेर कुरा गर्ने अनि अदालतले अवैध गरेको महाधिवेशन आयोजक कमिटीको बैठक बसेर स्थायी कमिटीमा सदस्य थप्ने ? यो के नियत हो ? त्यसकारण १६ गतेको निर्णय नै अवैधानिक छ, सच्च्याउनु पर्छ । माधव नेपाल, केपी ओली बसेर पहिला सहमति गर्ने र नवौं महाधिवेशनले चुनेको केन्द्रीय कमिटीमा फर्केपछि मात्रै जेठ २ मा फर्किन्छ । जान त चारवटा जेठ गए । ०७५ को जेठ हो कि ०७६ को जेठ को ? ०७७ को जेठ हो कि ०७८ को को ? प्रधानमन्त्रीले भनेको कुन हो ?

    उहाँ बाहिर एउटा भन्नु हुन्छ, गर्नुहुन्छ अर्कै । त्यसैले उहाँ ०७५ को जेठ २ अगाडि फर्कदै हुनुहुन्छ । आफूले जेठमा गरेको संसद् भंगलाई पनि अनुमोदन गर्ने गरी । अहिले एकता गर्न खोजिएको रहस्य अर्कै छ । हामी बैठकमा सामेल भइसकेपछि स्वतः एमाले एक भईसक्यौं विवाद भएका बेला परेको हस्ताक्षर हुनाले त्यो निष्क्रिय भइसक्यो भनेर अदालतलाई पत्र लेखेर पठाउने दाउ थियो उहाँको ।

    हस्ताक्षर फिर्ता गर्न निर्देशन नै दिनुभएको छ नि ?

    निर्देशनका कुरा छोड्नुस् । हामी नोकर केपी मालिक हो र ? यहाँ मालिक र दासको कुरा हैन । यो पार्टी बनाउन म २०२७ सालमा हिँडेको मान्छे हुँ । निरन्तर १९ वर्ष भूमिगत बसें । अमृत बोहरा, माधव नेपाल, झलनाथ खनाल, मदन भण्डारीलगायत पार्टी बनाउने हामी हो नि ! उहाँ कहाँ हुनुहुन्थ्यो पार्टी निर्माण गर्दा ? जम्मा दुई वर्ष भाग्दै बितिहाल्यो । ०३० सालमा पक्राउ पर्नुभयो । अनि ०४४ सालमा छुट्नु भयो । त्यो त हामीले पार्टी बनायौं, त्यो ग्राउण्डमा भएर पो केपी हुनुभयो । केपीले बनाएको पार्टीमा मुकुन्द न्यौपाने सदस्य भएको हैन । हरेक मान्छेसँग स्वाभिमान छ । हरेक नेतासँग स्वाभिमान छ । कोही कसैको मालिक र दास भन्ने हुन्छ ? पार्टीभित्र विधि हुन्छ, पद्धति हुन्छ, प्रक्रिया हुन्छ । त्यसकारण उहाँका कुनै निर्देशन लागु हुँदैनन् । अदालतले जे फैसला गर्छ त्यसलाई हामी मान्छौं । त्योभन्दा अगाडि दायाँ बायाँ केही हुँदैन ।

    तर, आजको बैठकमा पार्टी अध्यक्ष ओलीले भन्नुभएको छ– यदि सोमबारसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रम बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो । यो त गम्भीर र अर्थपूर्ण भनाई देखिन्छ नि ?

    पार्टी एकता त उहाँ चाँहदै चाहनुहुन्न । उहाँले पार्टी एकता गर्नु पनि हुन्न । होइन भने माधव नेपालसँग बसेर सहमति खोज्नुपर्दथ्यो । अहिले जुन कार्यदल भनिएको छ, त्यो वैधानिक होइन । कार्यदलको प्रमुख भीम रावललाई उहाँले पार्टीबाट निकाल्नु भएको छ । भीम आचार्यलाई पठाइएकै होइन । उहाँ बाटामा भेट्दा भेट्दै सुरुसुरु जानुहुन्छ ।

    एकता नचाहने तर एकताको नाटक गर्नुहुन्छ ओली । उहाँको मुख्य उद्देश्य– अदालतबाट हस्ताक्षर फिर्ता ल्याउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने स्थिति समाप्त पार्ने, आफैं प्रधानमन्त्री खाइरहने र अध्यादेशबाट शासन चलाउने हो । उहाँ संसद् र पार्टी बैठकको सामना गर्न सक्नुहुन्न । त्यसकारण अध्यादेशबाट शासन गर्ने र आदेशबाट पार्टी चलाउने । यत्ति हो, उहाँको उद्देश्य ।

    तपाईंहरू बोलाएको बैठकमा पनि नजाने अनि अध्यक्ष ओलीलेमात्रै पार्टी एकता चाहेनन् भनिरहनु भएको छ । यसमा तपाईंहरूकै चाहना छैन भन्ने आरोप संस्थापन पक्षको छ नि ?

    जब २०६२/६३ मा नेपाली जनताले महान् आन्दोलन गरे, यो नेपालको इतिहासमै चाहे ००७ को होस्, चाहे ०४८ को होस्, यी कुनै आन्दोलनभन्दा त्यो गणतन्त्र ल्याउने आन्दोलन थियो । र, गणतन्त्र स्थापित भयो । संविधानसभा निर्वाचन भयो । पहिलो संविधानसभाबाट संविधान बन्न सकेन । दोस्रो संविधानसभाले समाजवादको लक्ष्य राखेर संविधान बनायो । तर, संविधानबारे पार्टी संस्थापन पक्ष भनिन्छ नि, उसको गजबको तर्क छ । संस्थापन पक्षले सिद्धान्त बुझेको देखिदैंन, उसमा दर्शनको पनि ज्ञान छैन । राजनीतिको पनि ज्ञान छैन । यस्तो ज्ञान भएकाले २४ महिनामा संसद् भंग गर्छ ? जबकि पाँच वर्षलाई जनताले म्यान्डेट दिएका छन् । दुईतिहाईनजिक, आफ्नो बहुमतको सरकार भताभुंग गरेर पुसमा संसद् भंग गरे । विघटन गर्नु संविधानत गलत थियो भनेर अदालतले भनिसकेपछि एउटा राजनीतिक नेताले नैतिकता देखाउनु पर्थ्यो । नेतृत्व नभई नैतिकता हुँदैन । नेतृत्वसँग नैतिकता जोडिन्छ । नैतिकता पनि जोडिएन, विवेक पनि जोडिएन । ओलीले पुस ५ मा संसद विघटन गरेर गम्भीर त्रुटि गरेका थिए । फेरि अहिले जब संसद् चल्नेबेला आयो, उनले भंग गरिदिए । उनले जहिले संसद् चल्नबेला आउँछ भंग गरिदिने गरे । पुसमा पनि मुखमा आएको बेला भंग गरे । प्रधानमन्त्री ओली संसद्को सामना गर्न सक्दैनन, बैठक पनि सामना गर्न सक्दैनन् । त्यसैले एकताको लागि भनेर जेठ ३ मा गए । किनभने जेठ २ मा जाँदा सबै नेता एकै ठाउँ भइन्छ । उनीहरूले मेरो आलोचना गर्छन्, कडा ढंगले मेरा कमजोरी खोतल्छन् भन्ने छ उनलाई । प्रधानमन्त्रीले आलोचना सुन्न सक्दैनन्, संसद्को सामना गर्ने आँट पनि छैन । त्यसले गर्दा बैठकबाट पनि भाग्ने र संसद्‍बाट पनि भाग्ने गर्छन् ।

    अहिले एमाले नेतृत्वको चरित्र सके थिचेर खाने, नसके मिलेर ठग्ने । थिचेर खान सकिँदैन कि भनेर मिलेर ठग्न खोजियो । मिल्न चाहेको भए एउटा प्रधानमन्त्री, पार्टीको अध्यक्षले अस्ति वरिष्ठ नेता माधव नेपाल, शेरबहादुर देउवा, प्रचण्डलाई त्यस्ता अपशब्द बोल्न सक्छ ? त्यसैले प्रधानमन्त्री एकता चाहदैनन् । एकता हुँदा विगतमा गरेका गल्ती, पटकपटक ल्याएका अध्यादेशलगायतका सबै कुरा उठ्छन्, त्यसको जवाफ दिने ठाउँ छैन । त्यसकारण प्रधानमन्त्रीलाई आफ्नो कुरा मात्रै सुनाउने ठाउँ चाहिन्छ । केपीले एमालेलाई एकजुट गर्न चाहँदैनन् । त्यसकारण थाहा नदिइकन संसद, संविधान भताभुंग बनाए । उनमा गणतन्त्रप्रतिको रुचि पनि देखिदैन ।

    रिटमाथिका हस्ताक्षर फिर्ता लिन उहाँहरुले चेतावनी दिने तर तपाईंहरुले फिर्ता नलिने हो भने त पार्टीको समस्या झनै जटिल हुने देखियो नि ?

    ओलीका वकिलले अदालतमा के भन्दैछन् भने राष्ट्रपतिलाई प्रधानमन्त्री छान्ने अधिकार छ रे ! संसदभन्दा माथि राष्ट्रपति ! संविधान पनि बुझेका छैनन् । राष्ट्रपतिले संविधान पढ्नु भएकै छैन । उहाँले पढे पो बुझ्नु ! पहिला राष्ट्रपतिलाई अदालतले संविधानबारे सिकाउनु पर्छ, पढाउनु पर्छ । अदालतले प्रधानमन्त्रीलाई कानुन पढाउनु पर्छ ।

    रिटमाथिको सुनुवाई अन्तिम चरणमा छ । निटक भविष्यमै यसमाथि अदालतले फैसला सुनाउने समय आएको छ । यस्तोबेला तपाईंहरुलाई रिट निदवेदनमा गरेका हस्ताक्षर फिर्ता लिनुस् भनेर निर्देशन दिनुको मनसाय के देख्नुहुन्छ त ?

    आज हामीहरू बैठकमा हाजिर भएको भए त्यो हाजिरीलाई नै लिएर अदालत पठाउथे । हामी मिलिसक्यौं, हस्ताक्षर फिर्ता भयो भन्थे । तर, हामी बैठकमा सहभागी नभएपछि भरसक यताउती गरेर फिर्ता लिइहाल्छन् कि, सबैले नलिए पनि अल्पमतसम्म पुर्‍याउन सकिन्छ कि भन्ने मनसाय हो । त्यसबाहेक अरु के हुनु ! त्रासबाट उत्पन्न भएको पीडा हो ।

    त्यसो भए अब एमाले एकताको सम्भावना सकियो ?

    अहिले एमालेभित्र रामपन्थ र वामपन्थबीचको लडाँई हो, दर्शनको क्षेत्रमा । अहिलेको एमाले नेतृत्व कुनै द्वन्द्वात्मक भौतिकवाद, मार्क्सवादलगायत सबैबाट बिचलित भइसके । उटा कुरा सम्झाउँछु । असारमा ठोरीमा अयोध्या फेला पर्‍यो, त्यहाँबाट रामको डोली जनकपुर लाने भनेर प्रचारप्रसार गरेर तयारी गरेका प्रधानमन्त्री दुई महिनापछि चितवनको अयोध्या छिरे । कहाँ गयो ठोरीको अयोध्या ? अनुसन्धान कति बलियो छ ? जाँच्नुस् न !

    अब तपाईंहरु नयाँ पार्टी बनाउनु हुन्छ ?

    अदालतको फैसला आएको अर्को दिन हामी पनि फैसला गर्छौं । कान्तिपुर दैनिक

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर