• चैत्र १६, २०८० शुक्रबार
    29 Mar, 2024, Friday

    विवाहको उमेर घटाउन कानुन संशोधन प्रक्रिया थालिसक्यौं : कानुनमन्त्री शर्मा


    २०७९ असार १, बुधबार

    २०७९ असार १, बुधबार

    काठमाडौँ — कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउनका लागि कानून संशोधन प्रक्रिया थालिएको बताएका छन् ।

    कानून मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानून संशोधन कार्य सुरु भएको मन्त्रीले जानकारी दिएका हुन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले उक्त कुराको जानकारी दिएका हुन् । ‘विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ ।

    १६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा भोट हाल्न पाउँछ । २० वर्षमा विवाह भन्ने कानून छ,’ उनले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ ।’

    कांग्रेस सचेतक पुष्पा भुसालले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्नेबारे के काम भइरहेको छ भनेर सोधेको प्रश्नको जवाफमा मन्त्री शर्माले भने, ‘यो कानूनमा संशोधन गर्नुपर्छ । कानून मन्त्रालयले संशोधनको प्रक्रिया थालिसकेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।’

    प्रचलित कानूनमा विवाह गर्ने २० वर्ष छ । २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर