• चैत्र ६, २०८० मंगलबार
    19 Mar, 2024, Tuesday

    कांग्रेस महामन्त्रीमा डा. प्रकाशशरण महत नै किन ? यस्तो छ महतको विगत र पार्टीमा योगदान !


    २०७८ मंसिर २६, आइतबार

    २०७८ मंसिर २६, आइतबार

    काठमाण्डौंः नेपाली कांग्रेस १४औं महाधिवेशनको महायज्ञमा होमिएको छ । अधिकांश जिल्लाका महाधिवेशन प्रतिनिधि चयन भैसकेका छन् । मंसिर २४ देखि २६ मा काठमाडौंमा १४ औं राष्ट्रिय महाधिवेशन हुनेछ ।

    लोक सम्मतिका आधारमा राज्य सञ्चालन गर्ने प्रतिनिधि चयन गर्ने लोकतान्त्रिक परिपाटीमा विश्वास गर्ने राजनीतिक दल भएकोले नेपाली कांग्रेसले आफ्नो पार्टी पनि लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने प्रक्रिया अबलम्बन गरेको हो । नेपालमा लोकतान्त्रिक परिपाटीबाट राज्य सञ्चालन गर्ने प्रस्तावनासहित स्थापना भएको नेपाली कांग्रेसले नै २००७ सालको जनक्रान्तिमार्फत जहानियाँ राणा शासनको अन्त्य गरेको हो ।

    जनक्रान्तिद्धारा स्थापित लोकतन्त्रलाई जोगाउन कांग्रेसले पार्टीभित्रै पनि इमान्दारीपूर्वक लोकतन्त्रको अभ्यास गर्दै आएको छ । जनताको बलिदानद्धारा स्थापित लोकतन्त्र अपहरण भएपछि त्यसको पुनःस्थापनाका लागि निरन्तर आन्दोलन गर्दै आएको नेपाली कांग्रेसमा आफ्नो पार्टी सञ्चालन गर्ने नेतृत्व चयन गर्ने महाधिवेशनको ठूलो महत्व छ ।

    महाधिवेशनको सान्दर्भिकता र परिवेश

    लोकतान्त्रिक शासन पद्धतिप्रति विश्वास गर्ने र यसै पद्धतिमार्फत नेपाल र नेपाली जनताको समुन्नति हुने विश्वास गर्ने नेपाली कांग्रेस पार्टीको यो महाधिवेशन नेपालमा रहेका सबै राजनीतिक दलहरुलाई लोकतान्त्रिक पद्धतिमार्फत पार्टी नेतृत्व चयन गरी पार्टीभित्र लोकतान्त्रिक अभ्यास गराउने परम्पराको थालनीका हिसाबले पनि निकै महत्वपूर्ण मानिएको छ । आन्तरिक लोकतन्त्रको अभावमा पार्टीहरु विभाजन भैरहेको अवस्थामा हुने यो अधिवेशनले पार्टीहरुभित्र हुने आन्तरिक प्रजातान्त्रिक अभ्यासले पार्टीलाई मात्र हैन, देशमा चलिरहेको प्रजातान्त्रिक परिपाटीलाई पनि सबल बनाउन सघाउने सन्देश दिने देखिन्छ ।

    एकातिर नेपाली समाजलाई सम्पन्न बनाउन लामो समयदेखि गरिएका प्रयासहरुको परिणाम सुस्त गतिमा आइरहेको र भौगोलिक विकटता, कमजोर शिक्षा प्रणाली,बाह्य संसारसंगको प्रत्यक्ष सम्पर्कको अभाव आदिको कारण हाम्रो समाजको चेतनास्तर अपेक्षित रुपमा बढाउन नसकिएकोले आर्थिक विपन्नता, बेरोजगारी, उपयुक्त ज्ञान र शिक्षाको कमीका कारण फोस्रा नाराले जनताको एक हिस्सालाई आकर्षित गरिरहेको अवस्था विद्यमान छ । जीविकोपार्जनका न्यूनतम आधारहरु कमजोर भएकोले बाँच्नका लागि संघर्ष गरिरहेको वर्ग देशभित्रै विभिन्न राजनीतिक शक्तिहरुले देखाएका तिलस्मी सपनाको पछि लाग्दा लोकतान्त्रिक शक्ति हामीले सोंचे अनुरुप बलियो हुन पाएको छैन ।

    यसैले अहिले कांग्रेसका सामु विभिन्न शक्तिहरुले छरेका भ्रमबाट नेपाली जनतालाई मुक्त पार्दै पार्टीको जनाधार सबल, संगठन सुदृढ बनाएर यसलाई राज्य सञ्चालनका लागि योग्य निर्विकल्प पार्टीको रुपमा अगाडि बढाउनु पर्ने आवश्यकता छ । नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाको आन्दोलनसहित जननिर्वाचित संविधानसभाबाट संविधान जारी गर्ने कार्यमा बामपन्थी शक्तिको पनि सहकार्य रहेकोले उनीहरुले अबलम्बन गर्दै आएका पार्टीगत नीति, सञ्चालन गरेका कार्यक्रम र अपनाएका अभ्यासहरु जनताकाबीचमा गलत साबित गर्दै जानुपर्ने अवस्था पनि छ ।

    नेपाली कांग्रेसको नेतृत्वमा २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि सम्पन्न पहिलो निर्वाचनपश्चात् मुलुकमा तीन तहका सरकारहरु जनताको सेवामा क्रियाशील रहेका छन् । देशका सातै वटा प्रदेश सभा र संघीय संसदको प्रतिनिधिसभाको बनोट तथा संविधानको अक्षर भावना अनुसार प्रतिनिधिसभालाई पाँच बर्ष टिकाएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने सम्बन्धमा संसदमा रहेको विभिन्न राजनीतिक दलहरुबीचमा बनेको सहमति अनुसार सरकार र संघीयदेखि प्रादेशिक संसद चलाउनु पर्ने अवस्था छ ।

    अर्कोतिर आफ्नो छिमेकमा रहेका भूगोल र जनसंख्या दुवै हिसाबले विशाल, तीव्रदरमा आर्थिक विकास गरिरहेका र नितान्त फरक राजनीतिक व्यवस्था अवलम्बन गरिरहेका दुई मुलुक चीन र भारतको राजनीतिक,आर्थिक,सामरिक चासोबारे नेपाल चनाखो बन्नुपर्ने अवस्था छ । यी दुवै राष्ट्रको चासोलाई ध्यानमा राख्दै बहुदलीय संसदीय राजनीतिक व्यवस्थामार्फत नै हामीले नेपाल र नेपालीको समुन्नतिका नीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्नुछ भने संयुक्त राष्ट्र संघ लगायत विश्वमा लोकतन्त्र, शान्ति, विकास र मानव कल्याणका लागि स्थापना भएका बहुराष्ट्रिय निकायहरुसंग समन्वय राखी सन्तुलित परराष्ट्र नीति,आर्थिक नीति, सामाजिक तथा विकास नीति निर्धारण गरी नेपालको विकासको गतिलाई तीव्र बनाउनुपर्ने आवश्यकता पनि उत्तिकै छ ।

    यसर्थ मुलुकमा अहिले लचिलो, देशका सबै दलले विश्वास गरेको अनि अन्तर्राष्ट्रिय मञ्चमा पनि सबैं शक्तिहरुले पत्याएको र सबै मित्र राष्ट्र तथा बहुराष्ट्रिय निकायहरुसंग सन्तुलित र समन्वित सम्बन्ध विकास गर्न सक्ने नेतृत्वको आवश्यकता छ । नेपालको लोकतान्त्रिक आन्दोलनका साथै देशको विकास र जनकल्याणको मियो र दियो नेपाली कांग्रेस नै रही आएकोले यस १४ औं महाधिवेशनले परिपक्व,सर्वस्वीकार्य,अनुभवी नेतृत्व दिनुपर्ने खाँचो रहेको छ ।

    डा.महतको दावेदारी

    यही राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा पार्टी र मुलुकलाई आवश्यक परेको लचिलो, सहनशील, कर्मठ, शिक्षित, दक्ष,जोश र जाँगरले भरपूर तथा अनुभवी नेतृत्वलाई मध्यनजर गर्दै नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा नेपाली कांग्रेसका वर्तमान सहमहामन्त्री डा.प्रकाश शरण महतले आफूलाई महामन्त्रीको दाबेदारको रुपमा प्रस्तुत छन् ।

    कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा लागेका डा.महतको जीवन संघर्ष र चुनौतिले भरिपूर्ण देखिन्छ । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गर्नुभएका डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए । त्यसबेला २०४० देखि २०४४ सम्म उनी नेपाल विद्यार्थी संघको महामन्त्री थिए ।

    नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्ने सरल, सिधा, इमान्दार र अनुशासित कार्यकर्ता भएकोले पार्टीले उनलाई थप जिम्मेवारीहरु प्रदान गर्दै गयो । २०५५ देखि २०५६सम्म(सन १९९८ देखि १९९९सम्म) नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत २०५९(सन २००२)देखि निरन्तर केन्द्रीय सदस्य रही आएका छन् ।

    उनले केन्द्रीय सदस्यको रुपमा पार्टीले सुम्पिएका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै आएका छन् । २०७० सालमा पार्टीका निर्वाचन परिचालन समितिको संयोजकको भूमिका सफलतापूर्वक निर्वाह गरे । यो निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा संविधानसभामा विजयी भएको थियो ।

    संसदभित्रको जिम्मेवारी

    २०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका डा. महतले पहिलो संविधानसभा २०६४देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा देश र नेपाली नागरिकको सेवा पनि गरेका थिए ।

    दोस्रो संविधानसभाले नै २००७ सालको जनक्रान्तिको आह्वान गर्दा नेपाली कांग्रेसका संस्थापक महामानव वी.पी. कोइरालाले अगाडि सारेको नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावनालाई मूर्त रुप दिने सफलता पायो । जननिर्वाचित जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा उनले महत्वपूर्ण योगदान गरे ।

    व्यवस्थापिका संसदका एक क्रियाशील विधायकको रुपमा संसदका राज्य व्यवस्था समिति र संसदीय विशेष सुनुवाई समितिमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

    राजकीय जिम्मेवारी

    पार्टीको एक सच्चा,इमान्दार,अनुशासित,कर्मठ कार्यकर्ता भएको नाताले उनको योग्यता, क्षमता, दक्षता, कर्मप्रतिको समर्पण र कार्य सम्पादन हेरेर पार्टीले डा.महतलाई राज्य सञ्चालनका विभिन्न क्षेत्रमा फरक फरक जिम्मेवारी पनि दिएको छ ।

    देशमा माओवादी विद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५५ सालमा(सन १९९९ मा) गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका डा. महतलाई प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ असोजदेखि २०५९ बैशाखसम्म(सेप्टेम्बर २००१ देखि मे २००२ सम्म) सल्लाहकार नियुक्त गरी आफ्नो योग्यता र क्षमता अनुरुप देश र जनताको भलाईमा काम गर्न सघाउने अवसर दिए ।

    उनलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोजसम्म(सन २००२ को अप्रिलदेखि अक्टोबरसम्म) राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थिया । उनलाई २०६१ असारदेखि २०६१ माघसम्म(सन २००४ देखि २००५ सम्म) परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त भयो ।

    २०६३ देखि २०६४ सम्म (२००६ देखि जुन २००७) माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६४ फागुनसम्म (अगष्ट २००७ देखि जुन २००८ सम्म) विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पनि सुम्पिएको थियो ।

    २०६६ देखि २०६७ चैत्रसम्म(सन २०१० देखि २०११ सम्म) उहाँ ऊर्जा मन्त्री रहे । उनले ऊर्जा क्षेत्रको जिम्मेवारी पाएको बेलामा नै अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय भएको थियो । भूकम्प, नाकाबन्दी, बाढी–पहिरो र अन्य अवरोधका कारण ढिलो भएपनि अहिले आयोजनाको निर्माण सम्पन्न भएको छ । यसले नेपाली नीति निर्माता, प्राविधिक, लगानीकर्ता संस्था र सर्वसाधारण लगानीकर्ताको पनि आत्मविश्वास बढाएको छ । यसले मुलुकको आर्थिक विकासमा ठूलो सघाउ पुर्याउने निश्चित छ ।

    सोही अवधिमा नै नेपाल र भारतको बीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्ने निर्णय भएको थियो । ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइनको निर्माणले नेपालको लोडसेडिङ्ख अन्त्य गरी सबै नेपालीलाई उज्यालोतिर लम्किन प्रेरित गरेको यथार्थ यहाँ स्मरणीय हुन आउछ ।

    नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला अगष्ट २०१६ मा डा. महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पुन पाए । यो समय उनले नेपालको तराईमा भएको आन्दोलनले भारतले नेपालमा नाकाबन्दी गरेर नेपाल–भारत सम्बन्ध निकै तल्लो स्तरमा पुगेको अवस्थामा सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

    उनको सोही कार्यकालमा चीनसंगको सम्बन्धलाई पनि सन्तुलित राख्ने काम भयो । चीन सरकारले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)लाई नेपालको हित अनुकूल हुनेगरी कार्यान्वयनमा ल्याउने संझौतामा हस्ताक्षर सम्पन्न भयो ।

    भारतसंगको सुसम्बन्ध राख्नै पर्ने आवश्यकता भएकोले सह–महामन्त्री डा. महतकै अग्रसरतामा नेपाल र भारतका पार्टीहरुबीच सौहार्द सम्बन्ध विकसित गर्न हालै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेलाई नेपालमा आमन्त्रण गरी नेपालका सबै दलहरुसंगको सम्बन्ध नवीकरण गराउने मौका जुराइएको कुरा यहा स्मरणीय छ ।

    सुयोग्य नेता

    डा. महत शिक्षा,दीक्षा र योग्यताका हिसाबले पनि अब्बल नेतामा पर्छन् । उनले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएच डी उपाधि हासिल गरेका छन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ( पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर पनि गरेका छन् । सो अघि उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

    विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गरेका डा.महतका आर्थिक विकास,शान्ति प्रकृया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।

    डा. महतको विश्वास

    महामन्त्रीका दावेदार डा. महतले पार्टी र यसका भातृ संगठनहरुलाई चलायमान गराई नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो,प्रभावशाली, जनआकांक्षालाई सम्बोधन गर्दै राज्य सञ्चालन गर्न समर्थ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

    उनले सबल,चलायमान,परिणाममुखी, राज्य सञ्चालन गर्न समर्थ, जनआकांक्षा सम्बोधन गर्न सक्षम, तथा समस्त नेपालीको भविष्य सुरक्षित र सुनिश्चित भएको हेर्ने चाहना राख्नु हुने सबै कायकर्ताहरुको सहयोग र समर्थन पाउने अपेक्षा राखेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर