• वैशाख ८, २०८१ शनिबार
    20 Apr, 2024, Saturday

    विप्लवका १ सय २५ बढी नेताकार्यकर्ता थुनामै


    २०७८ असार २१, सोमबार

    २०७८ असार २१, सोमबार

    काठमाण्डौः नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाए ।

    सरकार विप्लव समूहबीच चार महिना अघि अर्थात् २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो । सो सहमतिमा विप्लव समूहले शान्तिपूर्ण राजनीतिको मार्गमा आउने प्रतिबद्धता जनाएको थियो भने सरकारले विप्लव नेतृत्वको दलमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र जेलमा रहेका नेताकार्यकर्ता छाड्ने भनेको थियो ।

    तर, सहमतिको चार महिना बित्दा पनि आफ्ना नेता कार्यकर्तालाई सरकारले थुनामुक्त नगरेको र कतिपयको मुद्दा नै चलिरहेको भन्दै सो समूहले सहमति कार्यान्वयन गर्दै थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई छाड्न सरकारसँग आग्रह गरेको हो ।

    हाल विप्लव समूहको दलका केन्द्रीय कमिटी सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन), चुडामणी ओली (आदर्श) र रणवीर थुनामा नै छन् । उनीहरूसहित १ सय २५ बढी नेता कार्यकर्ता थुनामा छन् ।

    विप्लव समूहका नेता प्रकाण्डले प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन गर्न १० दिनको समय दिँदै ध्यानाकर्षण गराइएको जानकारी दिए ।

    ‘सहमति कार्यान्वयनमा सरकारबाट चासो देखाइएन, हामीले सरकारलाई सहमतिको पालनामा प्रतिबद्ध रहन आग्रह गर्दै १० दिनको समय दिएका छौं,’ विप्लव समूहका नेता प्रकाण्डले भने ।यो समाचार राजधानी दैनिकमा छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर