कसरी सम्भव छ सफल नेतृत्व ?- युवराज ज्ञवाली
अषोज १३, २०७७ मंगलबार
×
नयाँ संजाल

कुनै पनि संघ, संस्था, पार्टी या सरकारको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गर्नु आफैँमा एउटा महत्वपूर्ण पक्ष हो । तर, जिम्मेवारी पाएपछि त्यसलाई सफलतासाथ निर्वाह गर्ने र त्यसलाई उपलब्धिमूलक परिणाममा पुर्‍याउनु त्योभन्दा धेरै महत्वपूर्ण, कठिन र चुनौतीपूर्ण विषय हो । आफ्नो नेतृत्वकालमा जसले सफलता प्राप्त गरेका छन्, उनीहरू आज यो धर्तीमा नरहे पनि करोडौँ जनताको मनमा जीवित छन् । तर, जसले आफ्नो जिम्मेवारीलाई दुरूपयोग गर्दै संस्थालाई कमजोर बनाउने काम गरे, तिनीहरू इतिहासमा घृणाको पात्रको रूपमा दर्ज भएका उदाहरण छन् । एक समय गौरवपूर्ण र वीरतापूर्ण काम गरेका व्यक्ति अर्को कुनै कालखण्डमा पुग्दा अनैतिकता र भ्रष्टाचारको आहालमा डुबेका उदाहरण दुनियाँमा धेरै छन्।

कुनै समय समाज परिवर्तनका लागि अग्रभागमा रहेर नेतृत्व गरेका व्यक्ति पछिल्लो अवस्थामा परिवर्तनविरोधीका रूपमा देखा परेका उदाहरण पनि कम छैनन् । कुनै पनि नेतृत्वले सफलता प्राप्त गर्नका लागि सबैभन्दा महत्वपूर्ण पक्ष उसको नीति, विचार र दृष्टिकोण नै हो । सही दृष्टिकोण भएको व्यक्तिले व्यवहारका क्रममा कतिपय गल्ती गरे पनि आफूलाई सच्याउँदै अघि बढ्न सक्ने सम्भावना रहन्छ । बाहिर सिद्धान्तका ठूला गफ गर्नु र सोहीअनुसारको दृष्टिकोण निर्माण हुनु अनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्नु आपसमा अन्तरसम्बन्धित भए पनि भिन्न विषय हुन् ।

आजको युग विज्ञान, प्रविधि र सञ्चारको क्षेत्रमा आश्चर्यजनक प्रगति भएको युग हो । यसले सामाजिक चेतना धेरै माथि उठाइदिएको छ । अहिलेको समाजको नयाँ पुस्ता अघिल्लो पुस्ताको तुलनामा धेरै अग्रगामी र गतिशील छ । पुरानै चिन्तन, दृष्टिकोण र कार्यशैलीका आधारमा आजको युगको अगुवाइ गर्नु असम्भव छ । व्यक्ति पुरानै भए पनि उनीहरूले आफूलाई नयाँ युगअनुसार रूपान्तरण गर्नैपर्छ । रूपान्तरित हुन नसक्ने हो भने नेतृत्व गर्ने महत्वाकांक्षा छाडिदिनुपर्छ । नेतृत्व गर्ने काम अन्य कुनै पनि कामभन्दा जटिल र कठिन काम हो । एउटा सानो परिवारभित्रका अन्तर्विरोध हल गर्न कति कठिन हुन्छ, त्यो सबैले दैनिक रूपमा भोग्दै आएकै छन् । एउटा ठूलो पार्टी अनि सिंगो देशको नेतृत्व गर्ने व्यक्ति त्यहाँका तमामखाले अन्तर्विरोध, समस्या र करोडौँ मानिसको मनोविज्ञानसमेत बुझेर अघि बढ्नुपर्ने आवश्यकता पर्छ । त्यसमा सफलता प्राप्त गर्नु भनेको सिंगो पार्टी अनि देशले नै सफलता प्राप्त गर्नु हो । नेतृत्वले ठीकसँग काम गर्न सकेन भने सम्बन्धित संस्था र मुलुक नै असफल हुन पुग्छ ।

पार्टीमा विकृति, अराजकता, अनुशासनहीनता, उदासीनता र निष्क्रियता बढ्दै जानुको कारण के हो, त्यसलाई निराकरण गर्ने उपाय के हो, समाधान खोज्दै यसको मुख्य जिम्मा नेतृत्वले लिनुपर्छ ।

र्टीभित्र आपसमा एक–अर्कालाई लडाएर, अन्तर्विरोध बढाएर केही समय टिक्नु एउटा कुरा हो, तर त्यस्तो नेतृत्व अन्ततः असफल हुनु अनिवार्य छ । सफल नेतृत्व त्यो हो, जसले आफ्नो पार्टीभित्रका तमाम अन्तर्विरोधको सही समाधान गर्न मुख्य भूमिका खेल्न सक्छ । कुनै पार्टी तथा समाजमा पहिलेदेखि नै अनेकौँ समस्या हुन सक्छन् र आकस्मिक रूपमा समस्या आइलाग्न पनि सक्छन् । नेतृत्वले समस्याको चाङ देखाएर आफ्नो असफलतालाई ढाकछोप गर्न पाइँदैन । किनकि, जनताले जहिल्यै पनि समस्याको समाधान खोजेका हुन्छन्।

मुलुकमा ठूलो भूकम्प गयो भने त्यसलाई दोष दिएर समस्याबाट भाग्न मिल्दैन । नेतृत्वले त्यसको समाधानका योजना बनाएर अगाडि बढ्नुपर्छ । अन्य तमाम समस्याका हकमा पनि समाधानको दिशामा अघि बढ्नुको विकल्प हुँदैन । सफल डाक्टरले रोग पत्ता लगाएर मात्र हुँदैन, उसले बिरामीको उपचार गरेर देखाउन सक्नुपर्छ । नेतृत्व गर्नु भनेको पार्टी र आफ्नो मुलुकको समस्या हल गर्ने राजनीतिक डाक्टर बन्नु नै हो । कुनै पनि पार्टीभित्र अन्तर्विरोध बढ्दै छ भने चुपचाप बसेर त्यसको समाधान हुँदैन, नेतृत्वले त्यसको सही कारण पत्ता लगाएर समस्या समाधानका लागि प्रमुख भूमिका खेल्न सक्नुपर्छ । नभए नेतृत्व असफल साबित हुन्छ।

पार्टीमा विकृति र विसंगति, अराजकता र अनुशासनहीनता बढ्नु, पार्टीपंक्तिमा नेतृत्वप्रतिको आस्था कमजोर बन्दै जानु, आपसी मैत्री भावना कमजोर बन्दै जानु, अनैतिकता र भ्रष्ट आचरण बढ्दै जानु, उदासीनता र निष्क्रियता बढ्दै जानु, योग्य र इमानदार मानिस किनारा लाग्दै जानुजस्ता समस्या देखा पर्नुको कारण के हो, त्यसलाई निराकरण गर्ने उपाय के हो, समाधान खोज्दै यसको मुख्य जिम्मा नेतृत्वले लिनुपर्छ । किनकि, समग्र पार्टी सञ्चालनमा रहेको त्रुटि, कमजोरीका कारण अनेक समस्या बढ्दै गएका हुन्छन् ।

त्यस्तै, सरकार सञ्चालनको सन्दर्भमा पनि सिंगो प्रशासनिक संयन्त्रले किन राम्रोसँग काम गर्न सकिरहेको छैन ? भ्रष्टाचार किन बढ्दै छ ? विकासका संरचना निर्माण त्यसको गुणस्तर कमजोर बन्दै जानुको कारण के हो ? सरकारका निर्णय समयमै कार्यान्वयन नहुनु, प्रशासनमा सेवाको भावना कमजोर पर्दै जानु, शिक्षाको गुणस्तर खस्किँदै जानु, गरिबी र बेरोजगारी बढ्नु, व्यापार घाटा बढ्दै जानु, धनी र गरिबबीचको भिन्नता बढ्दै जानु, समाजमा सरकारको कारणले असन्तुष्टि बढ्दै जानुको कारण के हो ? यस्ता अनेकौँ समस्याको समाधान होस् भनेर नै जनताले अमुक पार्टीलाई चुनेर सरकारमा पठाएका हुन्छन् । समस्या क्रमशः हल हुँदै गएको अवस्थामा जनता खुसी हुन्छन् र सरकारको प्रशंसा गर्छन् । भएन भने विरोध गर्नु र असन्तुष्टि व्यक्त गर्नु अत्यन्त स्वाभाविक हुन्छ । नेतृत्वले राम्रो काम गर्दै गयो भने प्रशंसाका लागि कार्यकर्ता सडकमा उतार्नु पर्दैन, लाखौँ–करोडौँ जनताले स्वतः समर्थन जनाउँछन् । त्यसैले कुनै पार्टी, संस्था तथा सरकारको नेतृत्व गर्ने व्यक्तिले केही महत्वपूर्ण विषयमा गम्भीर ध्यान दिएर सोहीअनुसार अघि बढ्न सक्ने हो भने सफलताले उनलाई पछ्याउँदै आउनु स्वाभाविक हो ।

(१) पार्टी र सरकारको नेतृत्वमा पुगेको व्यक्तिका कतिपय महत्वपूर्ण विशेषता र सकारात्मक पक्षहरू नहुने कुरै भएन । त्यससँगै उनीभित्र कमजोर पक्षहरू पनि हुन्छन् । नेतृत्वमा पुगेपछि सकारात्मक पक्ष हावी हुँदै गयो भने उनी सफलताको दिशामा अघि बढ्न सक्छन् । तर, उनमा अन्तर्निहित कमजोर पक्ष बढ्दै गयो भने असफलता भोग्नु अनिवार्य हुन्छ । त्यसमा सबैभन्दा प्रमुख सवाल भनेको उनले पार्टी र राज्यको शक्तिलाई देश र जनताको पक्षमा प्रयोग गर्छन् कि आफ्नो निजी र गुटगत स्वार्थमा भन्ने हो । यसले अन्य धेरै विषयलाई प्रभावित गर्छ । उनी कमिसन र भ्रष्टाचारमा निर्लिप्त हुने वा त्यसबाट पूर्ण रूपमा मुक्त हुने ? यसले मुलुकको गन्तव्यमै ठूलो प्रभाव पारिरहेको हुन्छ ।

सफल नेतृत्व त्यो हो, जसले आफ्नो पार्टीभित्रका तमाम अन्तर्विरोधको सही समाधानमा भूमिका खेल्न सक्छ ।

(२) निरंकुश राजतन्त्रात्मक युगमा राजाको एकल नेतृत्व, हुकुम, आदेशका आधारमा मुलुक चल्ने गर्थ्याे। त्यसवेलाका विद्धान्, वुद्धिजीवीले राजा अलौकिक शक्तिको अवतार भएकाले उनको आदेश पालन गर्ने या नगर्ने विषयलाई धर्म र पापसँग जोडेर विश्लेषण गर्थे । तर, यतिवेला शताब्दीयौँदेखिको जनताको बलिदानीपूर्ण संघर्षले लोकतान्त्रिक प्रणाली स्थापना भएको छ । लोकतन्त्रमा कुनै पनि पार्टी र सरकार एकल नेतृत्वमा होइन कि सामूहिक नेतृत्वका आधारमा चल्नु अनिवार्य हुन्छ । आजको युगमा एकल नेतृत्वका आधारमा संगठन चलाउन खोज्नु समाजलाई १६औँ शताब्दीतिर फर्काउन खोज्नुजस्तै हो । त्यसले आजको युगका समस्याको समाधान सम्भव छैन ।

एकजना व्यक्तिको बुद्धि र प्रयत्नभन्दा सामूहिक बुद्धि र प्रयत्नले असम्भव ठानिएका निकै ठूला काममा सफलता प्राप्त गर्न सकिन्छ । कुनै पनि व्यक्ति सर्वज्ञानी र सर्वगुणसम्पन्न हुँदैन । एउटाको ज्ञानभन्दा सामूहिक ज्ञानको स्तर निकै माथि हुन्छ । त्यसले नेतृत्वलाई निकै ठूलो सफलतामा पु¥याउँछ । आजको युगमा सामूहिक तरिकाले अघि बढ्नका लागि वैचारिक र सांगठनिक रूपमा एकीकृत पार्टीको उदय र विकास भएको छ । त्यसलाई ठीकसँग सञ्चालन गर्न सक्ने हो भने युग परिवर्तन गर्ने शक्ति उत्पन्न हुन्छ । नेतृत्वले यो विषयलाई गम्भीर रूपमा बुझ्नु र तदनुकूल आफूलाई बदल्न सक्नुपर्छ ।

(३) कतिपय व्यक्तिमा नेतृत्वमा पुगेपछि म नै सर्वेसर्वा हुँ भन्ने स्वेच्छाचारी चिन्तन र प्रवृत्तिको विकास हुन्छ । आफूलाई एउटा लोकतान्त्रिक नेताका रूपमा भन्दा शक्तिशाली शासक र सर्वोच्च नेताका रूपमा ठान्ने मनोग्रन्थि बढ्न थाल्छ । तर, लोकतान्त्रिक पार्टी विधि र संस्थागत निर्णयका आधारमा चल्नुपर्ने हुन्छ । यदि त्यसो गरिएन भने कुनै पनि पार्टी, सरकार, समाज या कुनै संस्थामा अराजकता र अस्तव्यस्तता सिर्जना हुन्छ । त्यसले प्रगतितिर होइन, अधोगतितर्फ धकेलिदिन्छ । चाहे जतिसुकै ठूलो मुलुक या पार्टी होस्, या त्यहाँ जतिसुकै ठूलो जटिलता किन नहोस्, निश्चित विधिका आधारमै त्यसको समाधान खोज्नुपर्छ । यदि वैज्ञानिक खालको विधि छैन भने सामूहिक र संस्थागत निर्णयका आधारमा उन्नत विधिको विकास गर्न सकिन्छ । जो व्यक्ति जति बढी जिम्मेवार छ, विधिको पालना गर्नमा ऊ सबैका लागि उदाहरण बन्न सक्नुपर्छ । तब मात्र ऊ सफल नेता बन्न सक्छ ।

(४) आमरूपमा हरेक मानिसमा अरूले आफ्नो प्रशंसा गरिदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ । तर, पार्टीको नेतृत्व र सरकारको नेतृत्वमा पुग्ने व्यक्तिले राम्रो काम गरे भने स्वतः प्रशंसाको पात्र बन्न पुग्छन् । गल्ती कमजोरी गर्दै गए भने आलोचना र विरोधको तारो बन्नु स्वाभाविक छ । प्रशंसाको भोकले छटपटाएको मान्छेले आलोचना सुन्नै चाहँदैन । सत्ताको नेतृत्वमा पुगेकालाई अरूको प्रशंसा विष मिसिएको चिनीसरह हुन्छ भने आलोचनाले तितो औषधिको काम गर्छ । प्रशंसाले उनलाई गल्ती गर्न उक्साइरहेको हुन्छ भने आलोचनाले गल्ती गर्नबाट जोगाउँछ । नेतृत्वले यी दुईमध्ये कुन रोज्ने ? सफलता–असफलता त्यसमै निर्भर छ ।

(५) कतिपय नेताहरू सिद्धान्त, नीति, विधि र विचारमा लचिलो अनि कतिपय व्यावहारिक र प्राविधिक विषयमा कठोर देखिन्छन् । वास्तवमा यो गलत तरिका हो । सफल नेता हुन चाहनेहरू सिद्धान्त, नीति, विधि र विचारमा दृढतापूर्वक उभिँदै व्यावहारिक सवालमा पनि लचिलो हुन सक्नुपर्छ । कतिपय स–साना व्यावहारिक विषयमा तरिका पुर्‍याउन नसक्दा ठूलो क्षति व्यहोर्नुपरेका घटना हाम्रै अघिल्तिर छन् । यी केही यस्ता महत्वपूर्ण विषय हुन्, जुन हरेक तहको नेतृत्वले आत्मसात् गर्न सक्दा संगठन, पार्टी, राजनीति, क्रान्तिका हकमा राम्रो हुन्छ । नयाँपत्रिका

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको