• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    ‘एमालेले जबज नै बुझेको छैन, हामी अघि बढाउँछौं’ – डा बेदुराम भुसाल (अन्तवार्ता)


    २०७८ असोज १०, आइतबार

    २०७८ असोज १०, आइतबार

    नवगठित नेकपा एकीकृत समाजवादीमा भर्खरै महासचिवको जिम्मेवारी पाउनुभएको छ । कम्युनिष्ट पार्टीमा महासचिव भनेको कार्यकारी जस्तै पद हो, यो पदलाई कत्तिको न्याय गर्न सक्छु जस्तो लाग्छ  ?

    मैले पार्टीमा काम गर्दा विगतमा पनि कार्यकारी भूमिका निभाएर आएको छु । वैचारिक हिसाबले नेतृत्वदायी र प्रभावकारी भूमिका खेलेको छु भन्ने आम बुझाइ छ । मैले १० वर्ष जिल्लाको पार्टी प्रमुख भएर काम गरेँ, कपिलवस्तुमा । त्यस्तै लुम्बिनी ठूलो अञ्चल हो, त्यहाँ पनि अञ्चल कमिटीको सचिव भएर धेरै समय काम गरेँ ।

    त्यस्तै केन्द्रीय संगठनको पनि सचिव भएर करिव ३ वर्ष काम गरेँ । यो सबै मेरो कार्यकारी भूमिका थियो ।

    त्यस्तै अनुशासन निरीक्षण कमिटीको सभापति भएर पनि काम गरेको थिएँ । सातौँ माहाधिवेशनमा, जो आठौं महाधिवेशनसम्म थियो । करिब ५ वर्ष । त्यसकारण मैले विगतमा वैचारिकसँगै कार्यकारी भूमिकामा रहेर पनि काम थिएँ । यो अनुभवले पनि मलाई नयाँ पर्टीले यो जिम्मेवारी दिएकाे हुनसक्छ । यो जिम्मेवारीलाई म न्यायपूर्वक निर्वाह गर्न सक्छु भन्ने विश्वास लिएको छु ।

    तपाईहरुको नयाँ पार्टीको कार्यसमिति एकदमै जम्बो बनेको छ । पार्टीमा नेताहरू व्यवस्थापनमा सकस परेको हो ? 

    हामीले पद व्यवस्थापनभन्दा पनि अहिलेको मुलुकको संघीय संरचना छ । त्यस अनुसारको पार्टी संसचना निर्माण गर्दा यो भएको हो । हामीले जतिबेला पार्टीलाइ निर्वाचन आयोगमा दर्ता गर्दै थियौँ, त्यो बेलै विधानमा नै ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव बनाउने भनेर दिएका थियौँ ।

    हामीले पछि थपेको भनेको १ उपमहासचिव मात्रै हो । त्यो हामीले एकै स्तरका साथीहरुलाई एकै स्थान दिऔं भनेर हो । हरेक उपाध्यक्ष र सचिवले एक प्रदेशको कार्यकारी भूमिका समेटे प्रभावकारी हुनसक्छ भन्ने हाम्रो बुझाइ हो । यो व्यावहारिक हुन्छ भन्ने पनि हामीलाई विश्वास छ । पद बाँडफाँडका लागि यसाे गरियो भन्ने छ, तर यो होइन ।

    अध्यक्षले तयार पार्नुभएको प्रस्तावमा नेताहरूले असन्तुष्टि जनाएकाले पदलाई तल-माथि पारिएको भन्ने पनि बाहिर चर्चा छ नि, यो चाहिँ के हो ?

    यो साँचो होइन । प्रचारका हरेक शैली हुन्छन् । कतिपय भएका हुन्छन्, कति नभएका । भएको के चाहिँ हो भने- उपाध्यक्ष पद चाहिँ १-२ वटा खाली राख्ने हो कि भन्ने हामीलाई लागेको थियो । यो अध्यक्षको मात्रै भनाइ होइन । यो पहिले हामीले बनाएको सानो स्थायी कमिटीको नै कुरा थियो । साथै सचिवालय र प्रदेश इन्चार्जको पनि यसमा सहमति थियो । एउटा बैठक बसेर हामलिे पदाधिकारीको सम्बन्धमा प्रस्ताव तयार गरेका थियौँ । यसमा सचिव पनि खाल राखौँ भन्ने आएको थियो । तर पछि खाली किन राख्ने पूर्ति गरेरै जाऔ भन्ने पक्षमा आयो । यसलाई हामीले सहर्ष स्वीकार गरेका मात्रै हौँ ।

    मुलुककै ठूलो पार्टी एमाले विभाजन गरेर नयाँ पार्टीको गठन गर्नुभाे । केन्द्र-प्रदेश-जिल्लासम्म संगठन विस्तारको अभ्यासमा हुनुहुन्छ,  के-कस्तो उत्साह पाउनुभएको छ ?

    एकदमै उत्साहजनक छ । ठूलो पार्टी, संगठन-संरचना बन्यो भनेका छन् नि, त्यो उत्साहका कारण नै भएको हो । धेरै साथीहरु केन्द्रीय तहको भूमिकामा बसौँ भन्ने इच्छा देखाइरहनुभएको छ । जसलाई हामीले केन्द्रीय कमिटीमा समेट्न निकै गाह्रो परेको थियो । हामीले सुरुमा नेकपा रहँदा एमालेको तर्फबाट भएको संसचना अनुसारको बनाउनु भन्ने तयारी थियो । तर हामीलाई जिम्मेवार र प्रभावकारी नेताहरुबाटै दवाव आएपछि हामीले विस्तार गरेर ३०१ केन्द्रीय कमिटी बनाएका हौँ ।

    केन्द्रमा जस्तै तपाईहरुसँगै एमालेबाट सहकार्य गरेका जिल्लाका साथीहरुले धोका दिने सम्भावना कति छ ?

    त्यो थोरै छ । छँदै छैन भन्ने हाम्रो भनाइ होइन । तर हामीले काम गर्दै गर्दा के पनि देखिसक्यौँ भने बीचमा अलिअलि अलमलिनुभएका साथीहरु पूरै स्पष्ट भइसक्नुभएको छ । नवौँ महाधिवेशनमा एक ठाउँमा रहेकाे हाम्रो टीम थियो । त्यो टीमका साथीहरु आधारभूत रुपमा एकै ठाउँमा रहन्छन् भन्ने थियाे । यद्यपि सबै साथीहरु एकै ठाउँमा रहन सकेनौं । उहाँहरु छुट्नुभएको हो, हामी दुखी छौं । आशा छ- उहाँहरु फेरि फर्केर आउनुहुनेछ । हामी एकै ठाउँ हुनेछौं किनभने उहाँहरु त्यो ठाउँ (एमाले)मा रहनसक्नुहुन्न । वैचारिक हिसाबले उहाँहरु बस्न सक्ने वातावरण नै छैन।

    मत नै मल्दैन विचार नै मिल्दैन नवौं महाधिवेशनमा हामी फरक फरक स्थानमा उभिएका थियौँ । केपी ओलीले नेतृत्व गर्नुभएको साथीहरु उता हुनुहुन्थ्यो । माधव नेपालले गर्नुभएको नेतृत्वको टीममा हामी थियौँ ।

    तपाइहरुले जबज छाड्नुभएको हो ?  तपाई जबजको प्रवक्ताको रुपमा लामो समयदेखि व्याख्याता हुनुहुन्छ । बाहिर आम रुपमा तपाईहरु जबजको लाइनबाट बिचलित हुनुभयो भन्ने टिप्पणी  छ नि ?

    जबज हामीले छाडेका होइनौं । उहाँहरु (नेकपा एमाले)ले चाहिँ छोडेको हो । जबज के हो भन्ने कुराको व्याख्या उहाँहरुको गलत छ । उहाँहरुले जबजको सिद्धान्तलाई पनि समाजवादको मार्गदर्शकको रुपमा भनिरहनुभएको छ, जुन जबजले परिकल्पना पनि गरेको छैन । त्यो जुन बेला मुलुकमा निरङ्कुश राजतन्त्रात्मक व्यवस्था थियो, त्यतिवेलामा हामीले त्यो व्यवस्थालाई फ्यालेर गणतन्त्रात्मक व्यवस्थालाई अगाडि ल्याउनका लागि मात्र ल्याइएको कार्यक्रम थियो ।

    मैले त्यसको व्याख्या मात्रै गरिनँ, त्यस विषयमै विद्यावारिधि पनि गरेँ । त्यसको तथ्यको आधारमा निकालेको निष्कर्ष, जसलाई त्रिभुवन युनभसिर्टीले स्वीकार गरेको छ । त्यहाँका विद्वानहरुले अध्यायन गरेर अनुमोदन गरेका छन् । त्यसै गरेका छैनन् । त्यसमा चारवटा हाँगा छन् । सैद्धान्तिक, राजनीतिक, आर्थिक र सामाजिक-साँस्कृतिक आयाम छन् । त्यसको राजनीतिक आयाम पूरा भएको छ । गणतन्त्र, संविधानको सर्वाेच्चता, विधिको शासन, आवधिक निर्वाचन, दलिय प्रतिस्पर्धा आदि ।

    उहाँहरु जबजका १४ विशेषता भनेर विश्लेषण गर्नुहुन्छ । यो त राजनीतिक पक्ष मात्रै हो । त्यसको दार्शनिक पक्ष त उहाँहरुले बुझ्नु नै भएको छैन । त्यहाँ प्रवेश र व्याख्या नै गर्नुहुन्न उहाँहरुले । हामी त्यसको सैद्धान्तिक, दार्शनिक लगायतका पक्ष पनि बोकेर हिँडेका छौँ । हामीले त्यसको प्रतिबद्धता पनि जाहेर गरेका छौँ । त्यसकारण हामी जबजको विकास, रक्षा र यसका मूल्य-मान्यतालाई लिएर अघि बढ्ने छौँ।

    यसका आर्थिक, राजनीतिक, सैद्धान्तक पक्ष चाहिँ बलियो सरकार जुन बनेको थियो, जुनबेला जनताले बहुमत प्रदान गरेका थिए, दुई तिहाइको सरकार बनाउने हैसियत प्राप्त भएको थियो, त्यो बेला जबजले अघि सारेका आर्थिक कार्यक्रमहरु लागू गर्नु पर्थ्यो । त्यो लागू गर्न उहाँहरु एक कदम पनि अघि सर्नुभएन।

    त्यस्तै सामाजिक-साँस्कृतिक रुपान्तरणको अभियान संचालन गर्ने भनेर नवाैँ अधिवेशनमा सहमति भएको थियाे । त्यसका सम्बन्धमा सिन्को पनि भाँचिएन । म त्यो मन्छे हुँ, नेकपा एमालेमा पनि नेकपा हुँदा पनि बारम्बार तपाइँले यी कुराहरुलाई कहिले ल्याउनुहुन्छ भनेर प्रश्न गर्थेँ । आज पनि यो प्रश्न उहाँहरुलाई छ मेरो । तर त्यो गर्नुहुन्न । यसलाई हामी अघि बढाउँछौं । त्यसकारण जबज बुझेका साथीहरुले यो अभियानमा साथ दिनुपर्छ । – न्यूज २४

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर