• वैशाख ११, २०८१ मंगलबार
    23 Apr, 2024, Tuesday

    ए डिभिजन लिग: नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल बुधबार हुने


    २०७८ माघ २५, मंगलबार

    २०७८ माघ २५, मंगलबार

    काठमाडौँ, माघ । १९ खेलाडीमा कोरोना संक्रमण भएसँगै निर्धारित समयमा हुन नसकेको नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल भोलि (बुधबार) हुँदैछ । २ माघमा तय खेल अघि १९ खेलाडीमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल  संघ (एन्फा)ले पहिलो पटक कोरोनाको कारण सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल स्थगित गरेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसाे १ बजे सुरु हुनेछ । यसअघि एन्फाले यस खेलका लागि २२ माघका लागि तोकेको हो । तर लगातार वर्षाका कारण मैदानको अवस्था ठिक नभएपछि एन्फाले दोस्रोपटकका लागि मिति तय गरेको थियो ।

    पुलिसविरुद्ध खेल्दै गर्दा कप्तान सन्तोष साहुखल भने उपलब्ध हुने छैनन् । उनी दुई खेल खेलेर पुनः जापान फर्किएका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका खेलाडीसमेत रहेका सन्तोषले पछिल्लो दुई खेलमा मैदान उत्रिएका थिए । सन्तोषले संकटा र मनाङविरुद्ध पूरा समय मैदान बिताएका थिए ।

    च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले साहुखल पछिल्लो १० दिनमात्रै तयारी गरेको र नेपाल पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याउन प्रयास गर्ने बताउँछन् ।  ‘सन्तोष हामीसँग छैन । समय धेरै भए पनि हामीले पछिल्लो १० दिनमात्रै तयारी गरेका छौं । कोरोनाका कारण धेरै तयारी गर्न पाएनौं । पछिल्ला खेलमा मनाङ र संकटासँग पनि राम्रो खेलका थियौं । पुलिसविरुद्ध पनि जित्न खेल्छौं,’ उनले भने ।

    पुलिस र च्यासलको यस खेलसँगै नवौं चरणको खेल सकिनेछ ।  एन्फाले लिगको १०औं चरणको खेल २८ माघबाट हुने जनाएको छ । यद्यपि, १०औं चरणका खेलहरूको तालिका भने सार्वजनिक गरिएको छैन । यसअघि नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएसँगै लिगका बाँकी खेलहरू रोकिएका थिए ।

    नवौं चरणको खेल जारी रहँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन् ।

    यता, नेपाल पुलिससमेत च्यासविरुद्ध जित निकाल्ने दाउमा हुनेछ । दुई राष्ट्रियसहित अनुभवी खेलाडीको साथ रहेको पुलिस च्यासलविरुद्ध जित निकाल्दै रेलिगेसन संकट टार्न चाहन्छ ।

    नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापा टोली च्यासलविरुद्ध खेल्न तयार भएको र खेलाडीसमेत पूर्णरूपमा फिट रहेको बताउँछन् । ‘च्यासलविरुद्ध खेल्न हाम्रो टिम तयार छ । हामी तीन अंकका लागि खेल्छौं । च्यासलको खेलअनुसार रणनीति बनाएर अगाडि बढ्छौं,’ अनन्त भन्छन् ।

    जारी लिगमा पुलिस र च्यासल दुबै रेलिगेशनबाट जोगिन संघर्षरत छन् । च्यासल ८ खेलबाट ५ अंकसहित १३औं स्थानमा छ । यता, पुलिस समान खेलबाट ७ अंक सहित ११औं स्थानमा छ ।

    न्यूज कारखाना

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर