उपप्रधान एवं रक्षामन्त्री खड्काद्वारा मध्य एयर वेशको निरीक्षण भ्रमण

काठमाडौंः उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरणस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्य एयर वेशको निरीक्षण भ्रमण गर्नुभएको छ । उहाँलाई मध्य एयर वेशमा प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थिति लगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराउनुभयो ।

सोही अवसरमा रक्षामन्त्री खड्काले मध्य एयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य महत्त्वपूर्ण उपकरणको अवलोकन गर्नुभयो । उहाँले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माण लगायतका क्षेत्रमा सम्पादन भएका कार्यको उच्च प्रशंसा गर्नुहुँदै आगामी दिनमा उच्च मनोबलका साथ कार्य गर्न निर्देशन समेत दिनुभयो ।

भ्रमणकै क्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५ औँ बैठक समेत सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोज प्रताप राणा, उच्च पदस्थ पदाधिकारी लगायत सैनिक हवाई सेवाका अधिकृतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया राख्नुहोस्

Comment Bellow
More Post