सुवासजी ! संविधान जारी भएपछि नाकाबन्दीको अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छुः केपी ओली

काठमाण्डौः नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि भएको छ ।

हृदयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको थियो । नेम्वाङको अन्त्येष्टिका क्रममा पशुपति आर्याघाटमा ठूलो जनसागर उपस्थित थियो । प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, वहालवाला मन्त्री एवं शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

अन्त्येष्टिमा सहभागी भएर फर्किएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सुवास नेम्वाङलाई सम्झिएर भावुक बनेका छन् । उनले नेपालको संविधान जारी गर्ने क्रममा स्वर्गीय नेम्वाङले खेलेको भूमिकाको स्मरण गर्दै सामाजिक सञ्जालमा लेखेका छन्ः

प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौं । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समुहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार खेपीरहेका थियौं । संविधानसभाका सधैं शान्त रुपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रुपमा प्रस्तुत हुनु भएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दवाव थियो । भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिंदै मलाई भेट्न आउनु भयो । उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ ।’

उहाँ असोज तीन गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादव कहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें, के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ । उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला भने । हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !

तपाइको प्रतिक्रिया राख्नुहोस्

Comment Bellow
More Post