• चैत्र १५, २०८० बिहिबार
    28 Mar, 2024, Thursday

    पाथीभरा मन्दिरलाई भिषण डढेलोबाट जोगाउन हेलिकप्टरको प्रयोग, पाथीभरा मन्दिरको रक्षाको लागि ॐ लेखि एक सेयर गर्नुहोस्।


    २०७७ पुष १८, शनिबार

    २०७७ पुष १८, शनिबार

    ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।

    स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो ।

    हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ ।

     

    शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

    बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा समेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

    यसैबीच सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो । “हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौँ”, उहाँले भन्नुभयो । यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै रहेको पनि उहाँले बताउनुभयो ।

    फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि शुरु भएको आगो पाथीभरा क्षेत्रको जङ्गलमा फैलिएको थियो । आगो कसले लगायो भन्ने खुलेको छैन ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर