• चैत्र १६, २०८० शुक्रबार
    29 Mar, 2024, Friday

    वर्षाका कारण झोलुङ्गे पुल जोखिममा


    २०७८ असार ३०, बुधबार

    २०७८ असार ३०, बुधबार

    काठमाण्डौः लगातारको वर्षाका कारण फुस्रेखोलालगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।

    पुलको छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत गर्न समस्या भएको रुद्रबहादुर केसीले बताउनुभयो । जोखिममा रहेको पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा आवतजावतमा समेत समस्या देखिएको उहाँले बताउनुभयो । पुललाई एकतर्फीरूपमा फुस्रेखोलाले कटान गरेपछि शुक्लागण्डकी–१ सेराबेँसी र पोखरा–३२ मालेपाटनमा आवागमन गर्न समस्या हुँदै गएको सेराबेँसीका युवा किशोर घिमिरेले बताउनुभयो ।

    “पुलको दुवैतर्फको किनारामा बर्सेनि पानीले खोल्दै गएको छ, बर्सेनि जोखिम बढ्दै गए पनि यसतर्फ कसैले चासो दिएको छैन”, उहाँले भन्नुभयो, “जोखमका बाबजुद पनि विकल्प नभएपछि सर्वसाधारण आवतजावत गर्न बाध्य छन् ।” जोखिममा पर्दै गएको पुलका सम्बन्धमा सम्बन्धित निकायले बेलैमा चासो दिनुपर्ने अर्का स्थानीयवासी बलराम ढकालले बताउनुभयो ।

    नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ ११९ मिटर छ । कूल रु ४१ लाख २५ हजार ५२८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि जोखिममा पर्दै गएको हो । दैनिक ठूलो सङ्ख्यामा कृषिजन्य कामका साथै पोखरा तथा तनहुँका विभिन्न स्थानमा हिँडेर र मोटरसाइकलमा आवतजावत गर्ने सर्वसाधारण ठूलै समस्यामा परिरहेको स्थानीयवासीले बताएका छन् ।रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर