• वैशाख ११, २०८१ मंगलबार
    23 Apr, 2024, Tuesday

    पुलुकिसी जात्रा, मपात्र र गणेश खटजात्रा सम्पन्न


    २०७८ असोज ९, शनिबार

    २०७८ असोज ९, शनिबार

    काठमाण्डौंः भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पुलुकिसी जात्रा आज साँझ सम्पन्न भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण चौथीका दिन मनाइने पुलुकिसीलाई भक्तपुरको लाकुलाछेंँबाट तःमारीमा ल्याएर भैरवको मन्दिरमा रहेको आकाश भैरवलाई पूजा गरी शुरु भएको पुलुकिसी जात्रा टोलटोलमा परिक्रमा गरी मनाइएको छ ।

    आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन आज लाकुलाछेंँ टोलमा बाँसको मान्द्रोले बेरेर नीलो कपडाले छोपी हात्तीको जस्तै सुँढ राखेर बनाइएको पुलुकिसीलाई भक्तपुर नगरपरिक्रमा गरी टोलटोलमा लगेर मनाइएको हो ।

    पुलुकिसीलाई चार जनाले बोकेर त्यसको मुनि एकजनाले घण्टा बजाएर अगाडि पछाडि दौडाउँदै नगरपरिक्रमा गरिने परम्परा रहेको छ । पुलुकिसीलाई जात्राका क्रममा वंशगोपाल चोकमा धान खुवाउने, दरबार क्षेत्रमा छ्वाली बालेर आगो तपाउने र दत्तात्रयस्थित (तल्ला तुन्छी) इनारमा पानी खुवाउने प्रचलन छ ।

    ऐतिहासिक धार्मिक गन्थ्रअनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न आवश्यक पारिजातको फूल लिन छोरा जयन्तलाई पठाइयो । पारिजात फूल खोज्ने क्रममा इन्द्रपुत्र जयन्त पृथ्वी लोकमा आइपुगेर फूल टिप्ने क्रममा दैत्यले पक्राउ गरेर जयन्तलाई दुई हात पछाडि बाँधेर राखेपछि जयन्तलाई लिन आएका देवता र दैत्यहरुबीच भएको युद्धमा देवताले विजय हासिल गरेपछि त्यसको खुशियालीमा पुलुकिसी जात्रा मनाइँदै आएको संस्कृतिकर्मीको भनाइ छ ।

    इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको सङ्कलन गरी त्यही पुराणका कथाका आधारमा जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मी रामेश्वर उपाध्यायको भनाइ छ । जयन्तलाई हात बाँधेर राख्दा मुःपात्रले दुव्र्यवहार गरिएको र जयन्तलाई खोज्न पुलुकिसी अर्थात् ऐरावत हात्ती आएको सन्दर्भमा जात्रा मनाउँदै आएको उनको भनाइ छ ।

    जात्रामा पुलुकिसीलाई टोलटोल घुमाउँदा त्यसको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार जात्राको बेला पुलुकिसी अगाडि आएपछि  सुँढले छोला भनेर जात्रालु परपर जाने गर्दछन् ।

    त्यसैगरी आजै भक्तपुरमा याँःमता अर्थात आकाश दीप बालेर भैरवको खटजात्रासमेत मनाइएको छ । मूःपात्र जात्रासमेत मनाइएको छ । आज इन्द्रजात्राको अन्तिम दिन पुलुकिसी घुमाइसकेपछि योःमद्योलाई उखेली जात्रा सम्पन्न गरिएको छ ।

    त्यसैगरी तीनदिनसम्म मनाइने मुपात्र जात्रा पनि आज सम्पन्न भएको छ । राक्षसका रूपमा लिइने मुपात्रलाई तरबार समात्न लगाई नगरपरिक्रमा गराएर सम्पन्न गरिएको छ । नगरको टोलटोलमा ठड्याइएको यमःदयोलाई मुपात्रले तीन पटक घुमेर तरबारले हान्ने प्रचलन रहेको छ । मुपात्र जात्रा शुरु हुनुअगाडि दत्तात्रय मन्दिर अगाडि त्रिशूल आकारको एक जोडी याँमता बालेर तचपालस्थित सँला गणेशलाई खटमा राखेर जात्रा गरिएको छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर