• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    राजश्व बगेर गइरहेको छ, टुलुटुलु हेरेर बस्न सक्दैनौँ : अर्थमन्त्री शर्मा


    २०७८ माघ १८, मंगलबार

    २०७८ माघ १८, मंगलबार

    काठमाण्डौः राजश्व राष्ट्रको रगत, पसिना रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् ।

    मंगलबार केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै उनले राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए छन् ।

    उनले राजश्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिए ।

    ‘राजश्व भनेको राष्ट्रको रगत, पसिना हो । यो बगेर गइरहेको छ’, उनले भने ‘यो हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । त्यसको नियन्त्रण कार्य आजैबाट सुरु गर्नुपर्छ ।’ यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने पनि उनले बताए । राजश्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक रहेकाले गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

    साथै सो अपरेशनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाइने पनि उनले बताए । यद्यपि हाल संसदबाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्रीस्तरीय तथा मन्त्रिपरिषदबाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने उनको भनाइ छ ।

    मन्त्री शर्माले कतिपय राजश्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको औंल्याए । सचेतनामूलक सन्देश फैलाएर सर्वसाधारणमा चेतना बढाई सरोकारवाला सबै मिलेर राजश्व चुहावटविरुद्ध लागेमा ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उनको दावी छ ।

    त्यस्तै उनले नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजश्व चुहावटमा कमी ल्याउन सकिने बताए ।

    पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेको केन्द्रीय राजश्व चुहावट समितिले जनाएको छ ।

    क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्यसँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारविन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्तिले चुहावट बढी हुने गरेको समितिको भनाइ छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर