• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    एक हप्तामा पनि टुगिएन माओवादीको प्रदेश १ अधिवेशन


    २०७८ पुष २, शुक्रबार

    २०७८ पुष २, शुक्रबार

    काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन एक हप्ता हुँदा पनि टुंगिएको छैन । गत शनिबार उद्घाटन गरिएको अधिवेशनमा नेतृत्व चयन हुन नसक्दा समस्या भएको हो ।

    प्रदेश-१मा पहिला आकांक्षी रहेकाहरु बाहिरिए पनि उक्त पदमा दाबी गर्नेहरुको संख्यामा कमी आउन सकेको छैन । २७१ सदस्यीय कार्यसमिति चयन गरेपनि पदाधिकारी चयनमा विवाद भएपछि नेतृत्व चयन असहज बनेको हो ।

    यसअघि अध्यक्षको दाबी गरिरहेका केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले आफ्नो दाबी छाडेका छन् तर अन्य नेताहरुले धमाधम अध्यक्ष लगायतमा दाबी गरिरहेका छन् ।

    प्रदेश समितिको बुधबार बसेको पहिलो बैठकमा तीनै जनाले प्रदेश समितिमा नरहने घोषणा गरेपछि केन्द्रीय सदस्यबाहेका नेताहरुलाई प्रदेशको नेतृत्व गर्ने बाटो खुलेको हो ।

    अहिलेसम्म अध्यक्षमा दाबी गर्नेहरुको संख्या ६ पुगेको छ । जसमा पाँचथरका हर्कबहादुर लावती (मिक्सो), सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) रहेका छन् । दाबी गर्नेको संख्या अझै बढ्न सक्ने प्रदेशका नेताहरु बताँउछन् ।

    माओवादीले नेतृत्व चयनका लागि भन्दै आगामी पुस ७ गतेलाई कार्यसमितिको बैठक आह्वान गरेको छ । उक्त बैठकमा पदाधिकारीको चयनबारे सुझाब दिन भन्दै प्रदेश १ माओवादीका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काङवाङको नेतृत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरीएको छ ।  कार्यदलका अन्य सदस्यहरुमा सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम), हेमराज भण्डारी र केन्द्रीय सदस्य रामकुमारी चौधरी रहेका छन् । यसबीचमा उनीहरुले आकांक्षीलाई मिलाउन प्रयत्न गर्ने बुझिएको छ ।

    यस्तै उपाध्यक्षमा खोटाङका ध्रुव बुढाथोकी (धिरेन), झापाका सिपी कडरिया र विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गरेका छन् । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दीरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना) प्रतिस्पर्धी छन् ।

    सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर) र सुनसरीका आइन्द्रविक्रम बेघाले  दाबी गरेका छन् ।

    सह–सचिवमा आकांक्षा राख्नेको संख्या धेरै भएपनि अहिलेसम्म सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक गरेका छन् । कोषाध्यषमा भने सुनसरीका मदन चुँडालले दाबी गरेका छन् ।

    कातिक २५ गते मोरङको विराटचोकमा अधिवेशन सुरु भएको थियो । आकांक्षीहरु धेरै भएपछि पदाधिकारी छान्न समस्या भएको एक नेताले बताए । माओवादीले २७१ जनाको समिति चयन गरीसकेको छ । ११ सय भन्दा बढी प्रतिनिधिबाट २७१ छानेर केन्द्रका नेताहरुले आफ्ना मान्छे राख्न लागि ‘हलो अड्काएर गोरु कुटेको’ एक नेताले आरोप लगाए । यसले पार्टीमा संकट निम्त्याउने उनको भनाइ छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर