• चैत्र १६, २०८० शुक्रबार
    29 Mar, 2024, Friday

    साविक विजेता फ्रान्स फाइनलमा


    २०७९ मंसिर २९, बिहिबार

    २०७९ मंसिर २९, बिहिबार

    साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि रक्षाको बाटोमा देखिएको हो ।

    फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गर्नुभयो । खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो ।

    पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सको उत्साह जगाउनुभयो । हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्नुभएको थियो । फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थपेको थियो ।

    औसमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गर्नुभएका मुआनीले मैदान छिरेको पहिलो मिनेटमै गोल गर्नुभएको थियो । उहाँले डिबक्सभित्र केलियन एमबाप्पेले मोरोक्कोका रक्षकलाई छल्दै दिएको पासमा पोस्ट नजिकबाट गोल गर्नुभयो । मुआनीको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

    यता बल पोसेसनमा पक्कड जमाएपनि मोरोक्कोको गोल फर्काउने प्रयास सफल भएन । फ्रान्स चौथो पटक फाइनलमा पुगेको हो ।

    सन् १९९८ र २०१८ मा दुई पटक विश्वकप उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो । लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि अर्जेन्टिनासँग खेल्नेछ ।

    पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराएर फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार राति हुनेछ । एजेन्सी

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर