• वैशाख १४, २०८१ शुक्रबार
    26 Apr, 2024, Friday

    लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण


    २०७८ असार २२, मंगलबार

    २०७८ असार २२, मंगलबार

    काठमाण्डौंः सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले गाउँब्लकमा रहेका जग्गाको जग्गाधनीलाई पुर्जा वितरण गरेको हो ।

    जिल्लामा गाउँब्लकमा रहेका जग्गाको लालपुर्जा वितरण आदेश भएका जग्गाधनीलाई पुर्जा वितरण गरिएको नापी कार्यालय सिन्धुलीका सूचना अधिकारी विष्णु बडालले जानकारी दिएका छन् ।

    उनले भने, “कार्यालयलाई १४६ वटा जग्गाधनी पुर्जा वितरणको आदेश आएको थियो हामीले आर्थिक वर्ष २०७७/७८ को लक्ष्यअनुसार हामीले पुर्जा वितरण गरिसकेका छौँ ।”

    “नाप नक्सा भएका २५० गाउँब्लकको तीन हजार ३८२ कित्ता सङ्ख्याको जग्गाधनी पुर्जा वितरण गरेका छौँ”, उनले भने । यस आवमा नापी कार्यालयले १२४ वटा स्रेस्ता हस्तान्तरण गरेको उनले जानकारी दिएका छन्।

    दुई हजार ५०३ कित्ता सङ्ख्या दर्ता भइसकेको र अब ८७९ कित्ता दर्ता हुन बाँकी रहेको छ । कार्यालयले यस आवको शुरुदेखि हालसम्म गोलन्जोर गाउँपालिकाको खुर्कोटमा १३, भुवनेश्वरीमा छ, सुनकोशी गाउँपालिकाको मझुवामा २२, तीनपाटन गाउँपालिकाको

    रानीचुरीमा आठ, बेलघारीमा २५, भीमस्थानमा ६७ र बाहुनतिल्पुङमा चार जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको सूचना अधिकारी बडालले जानकारी दिएका छन् ।

    साथै कार्यालयले मरिण गाउँपालिकाको कल्पवृक्षमा आठ, दुधौली नगरपालिकाको निपानेमा १५ र घ्याङलेख गाउँपालिकाको बस्तीपुरमा आठ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको उनको भनाइ छ ।

    साविक भीमस्थान, बेलघारी, भीमेश्वर, भुवनेश्वरी, मझुवा, बस्तीपुर, कल्पवृक्ष, निपानेलगायतका गाउँ विकास समितिमा रहेका २० वटा गाउँब्लकको जग्गाधनी पुर्जा वितरण गरिएको उनको भनाइ छ ।

    रानीवास, क्यानेश्वर, तीनपाटनलगायत अन्य स्थानमा दर्ता बाँकी रहेकाले आगामी आवमा दर्ता गर्ने कार्यालयको लक्ष्य रहेको उनले बताइन । यस आवमा वितरण गरिएका जग्गाधनी पुर्जाको स्रेस्ता आगामी आवमा मालपोत कार्यालयलाई हस्तान्तरण गर्ने उनको भनाइ छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर