• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    नेपाल र मरिससको खेलमा नेपालको संघर्षपूर्ण जित


    २०७८ माघ १८, मंगलबार

    २०७८ माघ १८, मंगलबार

    काठमाडौँ,माघ १८ । दशरथ रंगशालामा भएको नेपाल र मरिससको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको छ ।

    खेलको १० औं मिनेटमा नेपालका सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक गोल साबित भयो । नविन गुरुङको कर्नर प्रहारमा  आशिष लामाले दिएको पासलाई  पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै उनलाई पास मिलाएका थिए ।

    नेपालले अग्रता लिएको केही मिनेटमै मोरिससले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका  थिए । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई डि बक्स भित्र फाउल गरेपछि मरिससले पेनाल्टी पाएको थियो ।

    पहिलो हाफमा खेल सामान्य भएपनि दोस्रो हाफ भने तनावपूर्ण रह्यो । ७१ मिनेटमा अञ्जन विष्टलाई फाउल गरेको विषयमा झडप भएपछि नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरलाई रेफ्री नविन्द्र महर्जनले रातो कार्ड देखाएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित बनेको थियो ।

    नेपालका गोलकिपिङ प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड देखाइएको थियो । मैदान छिरेर विपक्षीमाथि केही शब्द प्रहार गरेपछि उनले पनि रातो कार्डको सामना गर्नु परेको थियो  ।

    ७९ मिनेटमा मरिसस ९ खेलाडीमा सीमित भयो। मरिससका इम्यान्युएल फूलचुडले नेपालका गौतम श्रेष्ठलाई डरलाग्दो ट्याकल गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

    तनावपूर्ण खेलमा ४ रातो कार्ड देखाइएको थियो ।

    नेपालले शनिबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको थियो । विजई गोल विमल घर्ति मगरले दोस्रो हाफमा गरेका थिए ।

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर